काठमाण्डौं ५ वैशाख । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले करिब ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दाे विषय भएको बताउनुभयो । सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्नसमेत उहाँले गर्नुभयोे । ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ उहाँले थप्नुभयोे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ कि । उत्तर चाहियो ।’ सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने सुझाव पनि आचार्यले दिनुभएको छ ।
‘संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो । सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’ अनलाईन खवरबाट