प्रदेश राजधानी विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर ३ वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गर्नुभयोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताउनुभयो । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गर्नुभयो । विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको उहाँले बताउनुभयो । प्रमुख नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताउनुभयो । बच्चा जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

कार्यक्रममा १९ वटै वडाका वडाध्यक्षहरुलाई प्रमुख कोइराला र उपप्रमुख कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।