सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर ३० चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ ।

महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक प्रमुख काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उनको भनाइ थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताउनुभयो । उहाँले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो । महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसहरुमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।

प्रभातफेरीमा विराटनगर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ५ सन्तोष न्यौपाने, ८ का राम पोखरेल, १० अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १४ का सूर्यनारायण महतोका साथै कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरु, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको समेत सहभागिता रहेको थियो ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आएका छन् । उहाँले विराटनगर सबैको भएकाले व्यवस्थित बनाउन महानगरवासीलाई सहयोग गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।