विराटनगर, ३० फागुन । सुनसरी र धनकुटामा हिजो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित तालतलैया मोडमा राति ९ बजेतिर ट्रक र मोटरसाइकल ठोक्किएको थियो । उत्तरतर्फ जाँदै गरेको ना ६ ख १७२४ नम्बरको खाली ट्रक र दक्षिणतिर आउँदै गरेको बा ९४ प ७१६० नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने २५ वर्षीया जेनिशा राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहानका राति १ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खोटाङको कोपीलाशगढी गाउँपालिका बस्ने २९ वर्षीय निशान राई गम्भीर घाइते भएका छन् । राईलाई बीपीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार ट्रक चालक फरार रहेका कारण खोजी तीव्र पारिएको छ । सडकको खाल्डाखुल्डीका कारण सवारीसाधनले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । त्यस्तै सुनसरीको दुहवी नगरपालिका–८ पशुपति आइरन फ्याक्ट्रीनजिक कोसी लोकमार्गमै बसले राति ८ बजेतिर ठक्कर दिँदा मजदुरको मृत्यु भएको छ । उ
त्तरबाट दक्षिणतर्फ आउँदै गरेको ध १ ख ६४७ नम्बरको बसको ठक्करबाट सोही फ्याक्ट्रीमा कार्यरत सर्लाहीको मलंगवा–७ घर भएका २८ वर्षीय रवीन्द्र महराको मृत्यु भएको हो । पैदलयात्रामा रहेका महरालाई सडक पार गर्दैगर्दा बसले ठक्कर दिएको थियो । उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । जन्ती सवार बस र चालक म्याग्दीको सिङ्गातातोपानी नगरपालिका–४ घर भइ धरान–८ मा बस्दै अएका ४१ वर्षीय सकबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच मुडे–लेगुवा सडकखण्डअन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिका–४ सिद्धथानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुडेबाट लेगुवातर्फ जाँदै गरेको को २ त ७३६ नम्बरको ट्याक्टर अगाडिको दायाँतर्फको चक्का फुस्किएर दिउँसो ३ः२० बजेतिर दुर्घटनामा परेको थियो । भित्तामा पल्टिएको ट्याक्टरले च्याप्दा चालक संखुवासभाको मादी नगरपालिका–९ का अन्दाजी ३० वर्षीय गगन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । यान्त्रिक गडबढीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।