विराटनगर, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रलाई कसिलो बनाउन आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनु पर्ने बताउनु भएको छ ।
कोशी प्रदेश राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजनद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रिपतिका लागि २०७९ फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फवाट उम्मेदवार हुनु भएका पूर्व सभामुख रामचन्द्र पौडेललाई निर्वाचित गराउन प्रदेश सभा सदस्यहरुलाई आयोजित अभिमुखीकरण कार्यक्रममा सो धारणा राख्नु भएको हो । महामन्त्री शर्माले पौडेल दलको नभई गणतन्त्र मुलुकको राष्ट्रपति हुनु हुनाले सङ्घीयता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विचार राख्नु भयो । उहाँले वर्तमान आठ दलीय गठबन्धन जनतावीचमा निर्माण भएकोले मुलुकको संसदलाई निरन्तर रुपमा पाँच वर्षसम्म सञ्चालन गर्ने बताउनु भयो ।
महामन्त्री शर्माले विगतको १२ बुंदे शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलका नेतृत्व नेताहरु वर्तमान गठबन्धनमा रहेकोले यसले मुलुको समृद्ध र जनताको जीवनस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विचार राख्नु भयो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेले उपयुक्त पात्र भएको विचार राख्नु भयो । उहाँले संविधान र गणतन्त्रको रक्षाका लागि आठ दलीय गणबन्धन दलका राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउनु पर्ने बताउनु भयो । पूर्व सभामुख महराले देशलाई समृद्धतर्फ डोर्याउन आठ दलीय गठबन्धन गठन गरी पौडेललाई उम्मेदवार बनाइएको जानकारी समेत दिनु भयो । उहाँले विगतको १२ वुँदे शान्तिसम्झौतालाई टुङ्गोमा पुर्याउन र संविधानको रक्षा गर्नु पर्ने दायित्वलाई आत्मसात गर्दै आठ दलीय गठबन्धन निर्माण गरिएको बताउनु भयो ।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङदम्वेले वर्तमान गठबन्धन प्राकृतिक रुपमा निर्माण भएको र यो सत्तालोलुपता नभई लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने विचार राख्नु भयो । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङ्ग र नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य महेश रेग्मीले समानता, स्थिरता र राष्ट्रलाई विकसित मुलुक बनाउन वर्तमान गठबन्धन निर्माण भएकोले पौडेललाई राष्ट्रपतिमा विजयी बनाउन आफ्नो अमूल्य मतको सदुपयोग गर्न आग्रह गर्नु भयो । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेशमा रहेका चार दलीय गठबन्धन दलका प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो ।