१२ जना यूवा प्रदेश सांसदहरुको ज्ञान सहयोगी हुने

विराटनगर १५ फागुन । प्रदेश १ का १२ जना सांसदहरुको ज्ञान सहयोगीका रुपमा १२ जना यूवाहरुले काम गर्ने भएका छन् ।

युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप पोखरा रिसर्च सेन्टरको पहलमा सन् २०२० देखि शुरु भएको कार्यक्रम अन्र्तगत प्रदेश १ का ५० जना २० देखि ३० वर्ष उमेर समूहका यूवाहरुलाई छनौट गरि विराटनगरमा तीन दिने प्रशिक्षण दिईएको छ । दोश्रो चरणमा ५० बाट २५ र तेश्रो चरणमा २५ बाट १२ जना छनौट गरि प्रदेश सांसदहरुको ज्ञान सहयोगीका रुपमा ६ महिना काममा लगाईने बताईएको छ ।

अमेरिकी दुतावासको सहयोग र विकल्प एन अल्टरनेटिभको सहकार्यमा शुरु भएको तालिमका क्रममा यूवाहरुले सार्वजनिक नीति निर्माण सुशासन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्ने बताईएको छ ।

पहिलो चरणको तीन दिने तालिम सोमबार सकिएको छ । अर्को चरणको तालिम छिटै शुरु हुने विकल्प एन अल्टरनेटिभका वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वाईपीजी फेलोहरुले प्रदेश सांसदहरुको निगरानीमा रही संसदीय कार्यमा २६ हप्ता प्रतिहप्ता १६ घण्टाका दरले काम गर्ने छन् ।