विराटनगर ११ फागुन । प्रदेश १ सरकारले निर्माण गरिदिएको प्रदेश प्रहरी कार्यालय भवनको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजन गरेको बजेटबाट प्रदेश राजधानी विराटनगरको रानीमा प्रदेश प्रहरी कार्यालयको नयाँ भवन बनेको हो ।
भवनको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कार्की प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा प्रदेश सरकारले भवन बनाउन बजेट विनियोजन गरेको थियो । अहिले मुख्यमन्त्रीको हैसियतमा प्रमुख अतिथि बनेर नवनिर्मित भवनको उद्घाटन गर्न उहाँलेनै पाउनु भएको हो । कार्कीले प्रहरीलाई सेवा प्रवाहमा भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रत्यक्ष असर परिरहेको बताउनुभयो । प्रदेशभरि प्रहरीको कमाण्ड सम्हाल्दै आएको कार्यालयको भवन निर्माण २०७६ सालबाट सुरु भएको थियो । भवन निर्माणमा १९ करोड १४ लाख १ हजार ६ सय ६३ रूपैयाँ खर्च भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अनिल रानाले जानकारी दिनुभयो । साना र ठूला गरेर ७५ वटा कोठा भएको ५ तले भवन निर्माण भएको उनले बताए ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीका अनुसार सुविधा सम्पन्न भवन बनेपछि सेवाप्रवाह सहज भएको छ । कोठाहरु पर्याप्त भएकाले नयाँ भवन बनेपछि काम कारबाहीमा सहजता आएको उहाँको भनाइ छ । ज्ञवालीले भौतिक हिसाबले सम्पन्न हुँदा कार्यक्षेत्रमा अनकूल वातावरण सिर्जना भइ प्रहरीलाई थप उर्जा तथा जोशका साथ काम गर्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयोे । पहिलेको भवन साँघुरो, पुरानो र जीर्ण हुँदा कार्यसम्पादन एवं सेवा प्रवाहमा समस्या भइरहेको थियो । नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताव सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगबाट नयाँ भवन निर्माण भएर कार्यसम्पादन सहज बनेसँगै प्रहरी कर्मचारीको मनोवल उच्च भएको उल्लेख गर्नुभयोे ।
कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, प्रदेशका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईं, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, जनप्रतिनिधि, प्रहरी अधिकारीहरु, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।