विराटनगर १ फागुन । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन दर्जन व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्नु भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ, बाल अपाङ्ग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचियर वितरण गर्नु भएको हो ।
ह्विलचियर वितरण गर्दै मुख्यमन्त्री कार्कीले अपाङ्गता रोकथामका लागि स्वास्थ्य सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेश सरकारले अघिल्लो कार्यकाल देखि नै सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीयतहरुवीचको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर सरकारले अपाङ्गतामैत्री भवन तथा पूर्वाधार निर्माणका लागि नीतिगत व्यवस्था गरेको बताउनुभयो ।
प्रदेश १ सरकार अन्र्तगतको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत मोरङका ९ र सुनसरीका ६ स्थानीय तहका ४ जना बालबालिका सहित ३५ जनालाई ह्विलचियर वितरण गरिएको करुणा फाउण्डेसन नेपालका बरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार ३० जना शारिरीक अपाङ्गता भएका र ५ जना बहुअपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको हो ।