सुनसरी सीतागञ्ज स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु

विराटनगर ४ पुस । सुनसरीको बर्जु २ मा फिजियोथेरापी सेवा शुरु भएको छ । सीतागञ्ज स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागतमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय स्तरमै निशुल्क रुपमा फिजियोथेरापी सेवा शुरु गरिएको बताईएको छ ।

दैनिक क्रियाकलापमा सहजता ल्याउने उदेश्यले सञ्चालनमा ल्याईएको फिजियोथेरापी केन्द्रको गाउँपालिका अध्यक्ष जिवछकुमार रायले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा वडा नं. २ का वडाध्यक्ष महेन्द्रप्रसाद कामत, पालिकाको स्वास्थ्य संयोजक रामबाबु श्रेष्ठ, सह–संयोजक दिलिप चौधरी, करुणा फाउण्डेसन नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत मिनल अधिकारी, फिजियोथेरापिस्ट स्नेहा खड्का लगायत पालिकाका कर्मचारी तथा वडाबासिहरुको उपस्थिति रहेको थियो ।

बच्चा जन्मिने बितिकै अकालमा निसासिएर मृत्यु नहोस् भनेर बर्थिंङ् सेन्टरबाट गुणस्तरीय सेवा दिन को लागि सितागञ्ज स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सेनटेटर, अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताका लागि फिजियोथेरापी केन्द्रको लागि एक थान व्हिल चेयर करुणा फाउण्डेसन नेपालको तर्फबाट हस्तान्तरण गरिएको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत राजीव चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रायले गुणस्तर सेवा र नियमित सेवा दिनलाई कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो । उहाँले सेवाको अधिकतम लाभ लिन सेवाग्राहीहरुलाई आग्रह समेत गर्नुभयो ।