विराटनगरमा एमालेका सबै वडाले चैत २५ गते उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने

विराटनगर, २४ चैत । नेकपा एमाले विराटनगर महानगरका सबै वडा कमिटीले चैत २५ गते स्थानीय तहकालागि उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भएको छ ।

आज बसेको नेकपा एमाले महानगर कमिटीको बैठकले २५ गते एकैदिन सवै वडाकमिटी र वडा संयन्त्रको बैठक बसेर नाम सिफारिस गर्न निर्देशित गरेको हो । यस्तै बैठकले चैत २६ गते महानगर कमिटीको बैठक बसेर महानगर प्रमुख र उपप्रमुख सहित सबै वडाका उम्मेदवारको नाम उपल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी, प्रचार प्रसार, आर्थिक परिचालन कमिटीलगायत आवश्यक समिति गठनको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको महानगर सचिव रोहित कोईरालाले बताउनुभयो ।

बैठकले महानगरको घोषणापत्र निर्माणकालागि अध्यक्ष तथा सचिवको समन्वयमा आवश्यक निकायसँग सुझाव लिएर तयार गर्ने जिम्मेवारी दिएको छ । यस्तै महानगरलाई चार वटा क्लस्टर बनाई छुट्टाछुट्टै नगरका रूपमा निर्वाचनमा खटिन संयोजक समेत तोकेको छ ।

महानगर अध्यक्ष सागर थापाका अनुसार विराटनगरका १९, १,२,३ र ४ वार्डलाई पुष्प नगर नामाकरण गर्दै उपसचिव नवराज नेपाललाई संयोजनको जिम्मेवारी दिएको छ भने ५,६,११ र १२ लाई मदन नगर नामाकरण गरिएको छ । त्यहाँको संयोजन सचिव रोहित कोइरालाले गर्ने हुनुभएको छ । मनमोहन नगर नामाकरण गरिएको ७,८,९ र १० वडालाई महानगर उपाध्यक्ष शिल्पा कार्की र रानी मजदूर नगर भनिएको १३ देखि १८ सम्मको वडाको संयोजन उपसचिव जयप्रकाश महतोले गर्नुहुनेछ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा पण्डितसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ ईन्चार्ज विनोद ढकाल, केन्द्रिय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश कमिटी सदस्य तथा खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्षुराम बस्नेतलगायतले निर्वाचन लक्षित धारणा राख्नुभएको थियो ।