उपप्रमुख कार्कीको नेतृत्वमा विराटनगर १० मा सरसफाइ

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज विराटनगर १० मा सरसफाई गरिएको छ ।

विराटनगर १० को न्युरो अस्पताल आसपास, साई मार्ग लगायतको क्षेत्रमा सरसफाई गरिएको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । सरसफाई कार्यक्रममा उपप्रमुख कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वडाध्यक्षहरु, महानगरका कर्मचारी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

महानगरका १९ वटा वडालाई ३ भागमा बर्गिकरण गरेर अभियान चलाईएको महाशाखा प्रमुख प्रधानले बताउनुभयो । उहाँका अनुसार उत्तरी क्षेत्र, मध्य क्षेत्र र दक्षिणी क्षेत्र गरेर हरेक साताको शुक्रबार विहान ७ वजेदेखि साढे ८ वजे सम्म अभियान सञ्चालन हुने गरेको छ ।

अभियान शुरु भएपछि हरेक साता सहभागिता बढ्दै गएको उहाँले बताउनुभयो । तीन वटै क्षेत्रमा एकै पटक अभियान सञ्चालन गर्ने गरिएको प्रधानले बताउनुभयो ।