आफन्त नेपाल विराटनगरद्धारा १२८ जना महिला तथा किशोरीको उद्धार

विराटनगर १७ माघ । आफन्त नेपाल विराटनगरले एक वर्षमा विराटनगर रानी सीमा क्षेत्रबाट १२८ जना महिला तथा किशोरीहरुको उद्धार गरेको छ ।

सन् २०२५ को जनवरी देखि डिसेम्वर सम्मको अवधिमा भारत सहित २२ जिल्लाका महिला तथा किशोरीहरुको सीमा क्षेत्रबाट उद्धार गरिएको आफन्त नेपाल विराटनगर शाखा प्रमुख अमृता घिमिरेले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकामा बसेको परियोजना सल्लाहकार समितिको बैठक तथा सन् २०२५ बार्षिक समिक्षा तथा आगामी योजना प्रस्तुती कार्यक्रममा शाखा प्रमुख घिमिरेले उद्धार गरिएका मध्ये ११७ जनाको पारिवारिक पुर्नमिलन गराइएको बताउनुभयो । उहाँका अनुशार उद्धार गरिएका १२८ मध्ये १० जना सुरक्षित आवास गृह चितवन र एक जना आपतकालिन आवधिक गृहमा छन् ।

उद्धार गरिएकामा मोरङका ६३, सुनसरीका १८, झापाका १०, सप्तरी र धनकुटाका ५–५, उदयपुर र सिराहाका ४–४, इलाम, संखुवासभा, पाँचथर र सर्लाहरीका २–२, गुल्मी, तेर्हथुम, धादिङ, ताप्लेजुङ, सिन्धुली, चितवन, धनुषा, दाङ, भोजपुर र खोटाङका १–१ जना रहेको बताईएको छ ।

महिला तथा किशोरीहरुको सीमा क्षेत्रबाट उद्धारका समयमा अनिवार्य परिचय पत्र चेक जाँच नहुदा सही सुचना संकलन गर्न चुनौती रहेको शाखा प्रमुख घिमिरेले बताउनुभयो । उहाँले जोखिममा रहेका किशोरीहरुलाई पारिवारिक पुनर्मिलन गर्नका लागी कागजपत्र र अभिभावक संग सम्पर्क नहुदा पुनर्मिलन गर्न समस्या तथा मानसिक समस्या भएका महिला तथा किशोरीलाई सम्हाल्न तथा पुनर्मिलन गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।

जवरजस्ती करणीका घटना दर्ता गर्न जाहेरी भएपछि मात्र ओसीएमसीले शारिरीक परिक्षण गर्ने कारण प्रमाण संकलन गर्न पनि समस्या रहेको परियोजना सल्लाहकार समितिको बैठकमा अवगत गराउनुभयो ।

आफन्त नेपालले १२ वटा जिल्लाका १३ वटा सीमानाका र भारतको नयाँ दिल्लीबाट मानव बेचबिखन, ओसारपसार नियन्त्रण साथै लैङ्गिक हिंसा अन्त्यका कार्य गर्दै आइरहेको छ ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफन्त नेपालले उद्धार तथा पुर्नस्थापनाको क्षेत्रमा राम्रो काम गरिरहेको र आगामी दिनमा पनि महानगर हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका विभिन्न शाखा तथा महाशाखा प्रमुख, मोरङ प्रहरीकी डिएसपी कोपिला चुँडाल, गैर सरकारी संस्था महासंघ मोरङ अध्यक्ष विष्णु पन्त, इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेकोे थियो ।