बालबालिकाले गरे विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

विराटनगर, ७ भदौ । विराटनगर १० को गणेश वाचानालय मार्गस्थित विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका विपन्न समुदायका ३१ जना बालबालिकालाई सोमबार विराटनगरमा शैक्षिक सामग्री वितरण गरिएको छ।
विराटनगर १३ कोसी पोजेक्टस्थित देवकोटा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुलका बालबालिकाहरूले विपन्न समुदायका बालबालिका मात्र पढ्ने विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका बालबालिकाहरूलाई उनीहरू पढ्ने स्कुलमै पुगेर शैक्षिक सामग्री वितरण गरेका हुन्।

वितरण गरिएको सो शैक्षिक सामग्री देवकोटा स्कुलका एकसय जना विद्यार्थीहरूले आफैं संकलन गरेको रकमबाट खरिद गरेका थिए। उनीहरूले आफ्नो खाजा रकम कटौती गरेर हरेक दिन एक रुपैयाँका दरले खुत्रुकेको माध्यमबाट ५० दिनसम्म रकम जम्मा गरेका थिए। त्यसरी खुत्रुकेमा जम्मा भएको त्यही रकम ५० दिन पुगेपछि वितरण गरिएको सो कार्यक्रमका संयोजक तथा विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका अतिरिक्त क्रियाककलाप विभागका प्रमुख शिक्षक सागर प्रधानले जानकारी दिए।

बालबालिककाहरूलाई वितरण गरिएको शैक्षिक सामग्रीहरूमा सुतीको झोला, पेन्सील, कपी, इरेजरलगायतका रहेका छन्। शैक्षिक सामग्री वितरण कार्यक्रममा विराट सत्य ओकिनावा प्राथमिक विद्यालयकी संस्थापक मीना उपाध्याय, गीता प्रधान, देवकोटा स्कुलका शिक्षक अनिल अधिकारी र दुवै स्कुलका बालबालिकाहरूको संयुक्त सहभागिता रहेको थियो।
शैक्षिक सामग्री वितरण गर्नुअघि विराट सत्य स्कुलका बालबालिकाहरूले देवकोटा बोर्डिङ स्कुलका बालबालिकालाई सेतो कागजमा विभिन्न शब्द लेखेर सामूहिक रूपमा स्वागत गरेका थिए। शैक्षिक सामग्री वितरणपश्चात दुवै विद्यालयका बालबालिकाहरूले एकै ठाउँमा बसेर सामूहिक भोजन गरेका थिए। विराट सत्य ओकिनावा प्राथमिक विद्यालयमा ५० जना विपन्न समुदायका बालबालिकाहरू अध्ययनरत छन्।

उनीहरूलाई निःशुल्क पढाउनुका साथै उनीहरूको शैक्षिक तथा स्कुल पोशाक र खाजा खर्च पनि सो स्कुलले व्यहार्ने गरेको स्कुलका प्रधानाध्यापक मनिता काफ्लेले जानकारी गराइन् । प्रअ काफ्लेका अनुसार सो स्कुलमा नर्सरीदेखि एक कक्षासम्म मात्र पढाइ हुन्छ। त्यहाँ पढ्न आउने बालबालिकाका अभिभावकहरू गरिब तथा विपन्न भएको कारण उनीहरू दैनिक ज्यालादारीमा जान्छन्।

त्यसैले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उनीहरूलाई विभिन्न खाले खेलाएर सिकाइन्छ। उनीहरूको उमेर सानो भएको कारण उनीहरूलाई किताबी ज्ञान दिनुभन्दा पनि मनोरञ्जनको माध्यमबाट शिक्षण सिकाइ गरिने त्यस विद्यालयका शिक्षक खगेन्द्र कुँवर बताउँछन्। उनका अनुसार यहाँ पढ्ने बालबालिका चार वर्षदेखि १२ वर्ष उमेर समुदायका छन् । धेरैजसो विराटनगर आसपासका छन्। पाँचजना कटहरी गाउँपालिकाको भातिगछबाट पनि आउँछन्। त्यहाँबाट कोही ४० र ४५ मिनेट आफैं हिँडेर त कोही अभिभावकहरूको साथमा आउँछन्।

उनीहरू आएनन् भने किन आएनन् भनेर बुझ्न उनीहरूको घरसम्म पुग्ने गरिएकको छ। त्यसरी उनीहरूको घर पुग्दा उनीहरूका अभिभावक ज्यालामजदुरीमा गएको कारण ठूला बालबालिकाले साना बालबालिकाको रेखदेख गर्दै गरेको भेटिन्छन् । कोही बालबालिकालाई अरू विद्यालयले खाजा खान दिने भनेर फकाएर लगेको पनि भेटिएको छ। यसरी हामी बेलाबेलामा उनीहरूको घरदैलोमा पुगेर पनि उनीहरूका अभिभावकहरूलाई सम्झाइ बुझाइ बालबालिका पुनः विद्यालय पठाउन अनुरोध पनि गर्दछौं।

सो स्कुललाई सो स्कुलकी संस्थापक मीना उपाध्ययका छोरा अतुलले जापानबाट गरेको सहयोग, लाइन्स, लियोजस्ता संघसंस्थाहरूले बेलाबेलामा सहयोग गर्ने गरेको प्रअ काफ्लेले बताइन्। पहिला त सय जना बालबालिका थिए। सहयोग रकम कम भएको कारण धेरै बालबालिकाहरूलाई भर्ना गर्न नसकिएको उनको भनाइ छ। सो स्कुल पनि संस्थापक उपाध्यायकै घरको भुईँ तलामा रहेको छ।

विद्यालयले बालबालिकाहरुको स्वास्थ्य, मनोरंजन लगायतका क्रियाकलाप संचालन गर्ने गरेको कार्यक्रम संयोजकक प्रधानले बताए। कतिपय बालबालिकाहरुका फोहोरमैला लुगा सफा गरिदिने, कपाल कोरिदिने, नुहाइदिने गरेको प्रअ काफ्ले बताउछिन्। स्कुलकी संस्थापक मीना भन्छिन्, ‘मेरो इच्छा बमोजिम मेरा छोराहरुको सहयोगमा स्कुल स्थापना गरेको हो। अब सधँै सहयोग गर्ने अवस्था नहुन पनि सक्छ।’ अब सहयोगी हातको आवश्यकता रहेको छ।

स्कुलकको मासिक खर्च डेढ लाख रूपैयाँसम्म हुने गरेको प्रअ काफ्लेको भनाइ छ। उनले भनिन् ‘बालबालिकाहरू स्कुल ड्रेससम्म हामीले नै किनिदिएका छौं। अन्य शैषिक खर्च त व्यहोरेककै छौं।’