विराटनगर २६ पुस । विराटनगर ११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभिएम)ले आफ्नो स्थापनाको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा विगत २० वर्षदेखि कार्यरत सातजना शिक्षक तथा कर्मचारीलाई आज सम्मान गरेको छ ।
शिक्षक तथा कर्मचारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी दाहाल, प्रिन्सिपल रविन दाहाल तथा भाइस प्रिन्सिपल अन्जली दाहालले संयुक्त रुपमा सम्मानित गर्नु भएको थियो ।
सम्मानित हुनेहरूमा विनोदप्रसाद शाह, मुङ्गालाल मण्डल, जनककुमार पोखरेल, सविता खतिवडा, धनकुमारी चापागाइँ, शोभा शर्मा र दिनेश पौडेल छन् । शिक्षक तथा कर्मचारीलाई जनही १० हजार नगद, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विज्ञान प्रदर्शनी, नृत्य, अभिनय लगायत प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल रविन दाहालले गुणस्तरीय शिक्षा तथा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अझ मेहनत र लगनशीलताप्रति प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।