साढे २३ करोड रुपैयाँभन्दा धेरै नोट जलेर नष्ट

विराटनगर २५ पुस । २३ र २४ भदौको जेनजी आन्दोलनमा साढे २३ करोड रुपैयाँभन्दा धेरै नोट जलेर नष्ट भएको छ । आन्दोलमा नगद क्षति साढे ७८ करोडको भए पनि जलेर नष्ट भएको २३ करोड ६९ लाख बराबर हो ।

जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन २०८२ अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको समग्र क्षति कुल २ अर्ब ८१ करोड ३४ लाख बराबर छ । त्यसमध्ये चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ क्षति पुगेको छ भने तोडफोडका कारण नगदमा पुगेको क्षति २२ करोड बराबर छ ।

कुल क्षति रकममध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ । सुन, चाँदी, हिरामोती जस्ता बहुमूल्य धातुमा समेत चोरीबाट १ अर्ब २ करोड ६४ लाख बराबर क्षति भएको छ । यस्ता धातुमा आगजनी र तोडफोडका कारण क्रमशः १३ करोड ११ लाख र ९३ लाख बारबरको क्षति पुगेको छ । यस्तै अन्य बहुमूल्य वस्तुमा पनि आगजनी र तोडफोडको तुलनामा चोरी क्षतिको प्रमुख कारण देखिएको प्रतिवेदनमा छ ।

निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा पुगेको क्षतिको रकम ५६ करोड १८ लाख बराबर छ । यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो । नगद तथा बहुमूल्य वस्तुमा पुगेको क्षति मुख्यतः चोरी र आगजनी घटनाबाट भएको देखिन्छ ।

कुल क्षति रकममध्ये सबैभन्दा ठूलो अंश अन्य बहुमूल्य वस्तुको ६३.२ प्रतिशत छ । यस्तै नगदतर्फ कुल २० करोड ३९ लाख क्षतिमध्ये सबैभन्दा धेरै आगजनीबाट ६७.९ प्रतिशत भएको छ भने चोरीको कारण २०.६९ प्रतिशत भएको छ ।

त्यसैगरी घरपरिवारको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षति हेर्दा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा, मोतीमा ७५ करोड ३१ लाख बराबर छ । नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख क्षति भएको प्रतिवेदनमा उल्लेख छ । क्षतिको कारण अनुसार हेर्दा चोरीबाट सबैभन्दा बढी ७३ करोड ४३ लाख, त्यसपछि आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख बराबर क्षति भएको छ ।

सामुदायिक तथा अन्य क्षेत्रको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षतिमध्ये नगदतर्फ ३३ करोड ७० लाख क्षति भएको देखिन्छ । अन्य बहुमूल्य वस्तुमा १६ करोड २३ लाख क्षति भएको छ ।