विराटनगर १९ पुस । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको अभियान अन्र्तगत मानव सेवा आश्रम प्रादेशिक कार्यालय विराटनगरले ८७९ जनाको उद्धार गरेको छ ।
मानव सेवा आश्रमको प्रादेशिक कार्यालय स्थापनाको ६ वर्ष २०७६ भदौ देखि गत असार मसान्त सम्म ८७९ जनाको उद्धार गरिएको हो । विराटनगरमा आज आयोजित बार्षिक प्रगति तथा आयव्यय सार्वजनिक तथा सामाजिक लेखापरीक्षण कार्यक्रमको सो जानकारी दिईएको हो ।
प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवराज केसीले ६ वर्षमा ३६८ जनाको पारिवारिक पुनर्मिलन, ३९ जनाको सामुदायिक पुनर्मिलन गराईएको बताउनुभयो । उहाँका अनुहार हाल आश्रममा १२१ जना संरक्षणमा रहेका छन् । जसमा १८ वर्ष मुनीका ७ जना, १८ देखि ४० वर्ष उमेर समूहका ३२ जना, ४१ देखि ६० वर्ष उमेर समूहका ४५ जना र ६० वर्ष माथिका ३७ जना रहेका छन् ।
आर्थिक वर्ष २०८१–०८२ मा १२२ जनाको उद्धार गरिएकोमा ३७ जनाको पारिवारिक पुनर्मिलन गराईएको थियो । ३० जनाले स्वेच्छाले आश्रम छाडेका थिए भने १० जनाको सामुदायिक पुर्नस्थापना गरिएको थियो । आश्रममा हाल संरक्षणमा रहेका मध्ये ८० जना मानसिक रोगको नियमित औषधि सेवन गर्नेहरु रहेको प्रमुख केसीले बताउनुभयो । उनीहरुको डा.रञ्जन थापाले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनु भएको छ ।
०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले ७ प्रदेश, २१ जिल्लाहरुका २९ सेवा केन्द्रहरुबाट सेवा दिईरहेको छ । देशभरीका आश्रमहरुमा अहिले २ हजार आश्रित छन् । हालसम्म १३ हजार सहयोगापेक्षी सडकआश्रितहरुको उद्धार गरिएको बताईएको छ ।
मानव सेवा आश्रमले २०८२ साल भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने अभियान २०७३ सालबाट शुरु गरेको हो । आगामी माघ महिनामा कोशी प्रदेशका १३७ वटै पालिकामा अभियान सञ्चालन गरि उद्धार गर्न बाँकीहरुको उद्धार गरि घोषणा कार्य गरिने तयारी रहेको मानव सेवा आश्रम कोशी प्रदेशका प्रमुख केसीले बताउनुभयो ।
मानव सेवा आश्रम तीनै तहका सरकार, सामाजिक संघसंस्था तथा विभिन्न सहयोगी व्यक्तिहरुको सहयोगबाट सञ्चालित छ । आश्रमकी पार्वती तिवारीले गत आर्थिक वर्षको आयव्यव विवरण प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक प्रगति सार्वजनिक कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बराल, जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुँडाल, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा, लायन्स क्लवका विजयहरि शर्मा, विकास अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।