विराटनगर १६ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता कृष्ण कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
कृष्ण कार्की लामो समयदेखि स्थानीय समुदाय सेवाको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । रास्वपासँग आबद्ध भएर उनले जनसरोकारका मुद्दालाई संसदसम्म पुर्याउने लक्ष्य लिएका छन् । उनले आफूलाई राजनीतिक दलको नेता नभई, आम नागरिकको सशक्त प्रतिनिधिको रूपमा देख्न पाउने बताएका छन् ।
कार्कीले आफ्नो प्रतिवद्धतामा मुख्यतया शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी जस्ता आधारभूत क्षेत्रमा सुधार ल्याउने वाचा गरेका छन्। उनी बताउँछन् “मोरङको ग्रामीण भेगमा अझै पनि गुणस्तरीय शिक्षाको पहुँच र सुलभ स्वास्थ्य सेवा अभाव रहेको छ । युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ ।”
स्थानीय स्तरका समस्यामा सहयोग पुर्याउँदै आएका कार्की केही समयअघि भएको जेनजी आन्दोलनमा पनि अग्रपंक्तिमा देखिएका थिए । जनताको आवाजलाई सशक्त रूपमा अभिव्यक्त गर्ने क्रममा उनले आम नागरिकसँग गहिरो सम्बन्ध बनाएका छन् ।
उनले आफ्नो उम्मेदवारीको प्रमुख एजेन्डा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई बनाउने घोषणा गरेका छन् । मोरङको दक्षिणी भेग अझै पनि आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाबाट बञ्चित रहेको भन्दै उनले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
त्यस्तै, रोजगारीका अवसर अभावका कारण युवाहरू विदेशिन बाध्य भएको समस्यालाई कार्कीले गम्भीरतापूर्वक उठाएका छन् । “युवालाई गाउँमै उत्पादनशील रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ,” कार्कीले जोड दिए ।
यसपटक देशको राजनीतिक परिवर्तनले पूराना दलहरुलाई समस्या हुने अनुमान गरिएको बेला मोरङ–२ मा कार्कीको प्रवेशले निर्वाचनलाई थप रोचक बनाउने देखिन्छ । जनतासँगको प्रत्यक्ष सम्पर्क र स्थानीयस्तरमा उनले गरेको योगदानलाई मतमा रूपान्तरण गर्न सके, कार्की बलियो प्रतिस्पर्धी बन्ने विश्लेषण गरिएको छ ।