लुटिएका हतियार र फरार कैदी बन्दी निर्वाचन अघि नियन्त्रणमा आउँछ : गृहमन्त्री अर्याल

विराटनगर १६ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीहरु आगामी फागुन २१ अगावै नियन्त्रणमा आईसक्ने बताउनु भएको छ ।

फरार अधिकांश कैदीवन्दीहरु फिर्ता भैसकेको र बाँकीलाई समेत विशेष अपरेशसन सञ्चालन गरी यथासिघ्र फिर्ता ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

निर्वाचन लक्षित कोशी प्रदेश स्तरिय सुरक्षा बैठकलाई आज विराटनगरमा संवोधन गर्दै गृहमन्त्री अर्यालले राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषय प्रति सरकार संवेदनशील भएर काम गरिरहेको उहाँले बताउनुभयो ।

दलसँगको बार्ता र संवादको समेतको बिषयमा सरकार जिम्मेवार, संबेदनशील र त्यतिकै उत्तरदायी रहेको गृहमन्त्री अर्यालको भनाई छ ।

भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उहाँले बताउनुभयो । सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताउनुभयो । उहाँले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पुर्याई शासनको वैधानिकता प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’

निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेडका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ती सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको गृहमन्त्री अर्यालको भनाई छ ।

सुरक्षा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलिय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनको वातावरण अझै बनि नसकेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ निर्वाचन आउन दूई महिना बाँकी छ । निर्वाचनको वातावरण बनेको देखिदैन । निर्वाचनको नाममा मुलुकलाई मुडभेडमा नलैजाउँ ।’

उम्मेदवार मारिने, मतदाता, मतपत्र सुरक्षित नहुने अवस्था देखिएको उहाँको भनाई छ । सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवस्यक साधन श्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयको मुख्यमन्त्री कार्कीले ध्यानकर्षण गराउनुभयो।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले लगायले बोल्नु भएको थियो ।

सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ ।