विराटनगर २० मंसिर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले आज न्यूरोलोजी (टाउको तथा नशा ) तथा पल्मोनोलोजी (फोक्सो तथा दम ) रोगबारे निशुल्क ओपीडी शिविर सञ्चालन गरेको छ ।
भारतको हरियाणा स्थित अमृता हस्पिटलसँगको सहकार्यमा न्युरो अस्पताल विराटनगरले आज सञ्चालन गरेको शिविरमा ८१ जनाले परीक्षण गराएको अस्पतालले जनाएको छ । शिविरमा फोक्सो तथा दम रोगबारे १२ जना र ६९ जनाले टाउको तथा नशा रोगबारे परीक्षण गराएको जनाईएको छ । अस्पतालले आज विहान अमृता हस्पिटलसँगको सहकार्यमा निशुल्क शिविर सञ्चालनबारे जानकारी गराएको थियो ।
निःशुल्क ओपिडी क्याम्पमा अमृता हस्पिटलका बरिष्ठ न्यूरोलोजिष्ट प्राध्यापक डाक्टर सन्जय पाण्डे, बरिष्ठ विशेषज्ञ डा. सौरभ पाहुजा, न्युरो अस्पताल विराटनगरका बरिष्ठ बिशेषज्ञ न्यूरोलोजिष्ट डा. बीरेन्द्रकमार बिष्ट, बरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. सुनन्द पौडेल लगायतका चिकित्सकहरुले सेवा प्रदान गर्नु भएको थियो । यसअघि शुक्रबार न्युरो अस्पतालले न्यूरोलोजी तथा पल्मोनोलोजी बिषयमा नियमित मेडिकल शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा कोशी प्रदेश तथा मधेश प्रदेशका ६० भन्दा बढी बिशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमले स्वास्थ्य क्षेत्रमा भएका नयाँ नयाँ प्रविधी को विषयमा एक अर्कामा सुचना तथा ज्ञान आदान प्रदान हुने सहभागी चिकित्सकहरुले बताएका थिए ।
न्युरो अस्पताल विराटनगरले स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा बिभिन्न निःशुल्क स्वास्थ्य शिविरहरु, सचेतनाका कार्यक्रमहरु र त्यसैगरि अस्पतालले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुलाई थप गुणस्तरीय बनाउन प्रविधी तथा भौतिक पुर्वाधार तथा संरचनामा लगानी, सेवा तथा सुविधालाई व्यापक पहुँचमा पुरयाउन बिभिन्न अस्पताल तथा संस्थाहरुसँग सहकार्य गर्ने जस्ता कार्यहरु गरिरहेको पत्रकार सम्मेलनमा अस्पतालका अपरेसनल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अमृता हस्पिटलसँगको सहकार्य शिविरहरु सञ्चालन भईरहेको उहाँले बताउनुभयो ।
अमृता हस्पिटल भारतको हरियाणा स्थित दिल्ली एनसीआर फरिदाबादमा अवस्थित रहेको छ । २६०० शैयाको यो अस्पताल भारतको सबै भन्दा ठुलो गैर सरकारी अस्पताल हो । सो अस्पतालमा ५०० भन्दा बढी आईसीयू तथा सीसीयू का शैयाहरु रहेका छन ।
सो अस्पतालमा अत्याधुनिक प्रविधी सहित आधुनिक उपचार पद्दतीको माध्यमबाट अंग प्रत्यारोपण देखि रोबोटिक सर्जरी सम्म हुने गरेको पत्रकार सम्मेलनमा बताईएको थियो ।