माइती नेपाल विराटनगरद्धारा डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण

विराटनगर ९ मंसिर । माइती नेपाल विराटनगरले ‘१६ दिने लैङ्गिक हिंसा अन्त्य अभियान’ अन्तर्गत डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखन पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको सुरुवातमा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले कार्यक्रमको उद्देश्य, महत्व, तथा १६ दिने अभियानाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले डिजिटल हिंसा, सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगी, व्यक्तिगत गोपनीयता संरक्षणका उपाय तथा अनलाइनमार्फत हुन सक्ने सम्भावित बेचबिखनका संकेत कसरी चिन्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।

अभिमुखीकरणमा सहभागी महिलाहरूले आफ्ना अनुभव र चिन्ताहरू समेत व्यक्त गर्दै डिजिटल माध्यममा बढ्दो जोखिमप्रति सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

माइती नेपाल विराटनगरका अनुसार, १६ दिने अभियानभर समुदायमा डिजिटल हिंसा, अनलाइन ठगी तथा बेचबिखनको रोकथामबारे निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्ने संयोजक पोखरेलले बताउनुभयो ।

कार्यक्रममा विराटनगर–१२ र १३ का करिब २५ जना गृहणी महिलाहरुको सहभागिता रहेको थियो ।