कोशी प्रदेशको हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान

विराटनगर १५ माघ । कोशी प्रदेशको हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजे बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय अनुशार प्रदेश प्रमुख परशुराम खापुङले बैठक आह्वान गर्नुभएको छ ।

प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माण भइरहेकाले यस पटकको अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन गरिने भएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मासिक ८ लाख रुपैयाँ भाडा तिर्ने गरी सभागृहमा बैठक बस्ने तयारी गरिएको हो । मन्त्रिपरिषद् बैठकल प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ।

सरकारले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०८२ लाई स्वीकृत गरेको छ ।

यसैगरी प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । विकास आयोजनाहरूतर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पारित भएको छ । त्यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ । यो कार्यक्रम अन्तर्गत संघीय सरकारले ७७ करोड पुँजीगत र ७० लाख रुपैयाँ चालु बजेट उपलब्ध गराएको छ ।

बैठकले विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ लाई समेत स्वीकृत गरेको छ ।