विराटनगर २५ कात्तिक । विराटनगरका ३१७ बालबालिकाहरुलाई आज स्वर्णबिन्दु प्राशन खुवाईएको छ ।
विराटनगरमा चालु आर्थिक बर्षका लागि आजदेखि स्वर्णबिन्दु प्राशन खुवाउने अभियानको शुरुवात गरिएको हो । अभियानको शुभारम्भ कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले गर्नु भएको थियो ।
स्वर्णबिन्दु प्राशन अब प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा सञ्चालन हुनेछ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले पहिलो पटक बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाउने अभियान शुरु गरेको हो ।
चालु आर्थिक वर्ष यो अभियान विराटनगरमा मात्र सञ्चालन गरिने केन्द्रका कविराज निरीक्षक वैजनाथ साहले जानकारी दिनुभयो । उहाँका अनुशार स्वर्णबिन्दु प्राशन एक वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई खुवाईने छ ।
स्वर्णबिन्दु प्राशन सुनको भष्म, औषधी मिसाएको घिउ र महको मिश्रणबाट तयार गरिने साहले बताउनुभयो । साहका अनुशार बालबालिकाको वर्ष अनुसार २ देखि ५ थोपा । ब्राह्मी भन्ने एउटा जडिबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने कविराज निरीक्षक साहले बताउनुभयो ।
चालु आर्थिक वर्षमा विराटनगरका १ देखि ५ वर्ष उमेर समूहका सवै बालबालिकालाई अभियानमा समेटिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.रामप्रबोध चौधरीले जानकारी दिनुभयो ।
स्वर्णबिन्दु प्राशनले बालबालिकाको स्मरण शक्ति र बाणीमा सुधार हुने, पाचनशक्ति र शारीरिक वल बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने, बालबालिका उर्जावान, तेजस्वी र सुन्दर हुने डा. चौधरीले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा स्वास्थ्य मन्त्री राई, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेत, विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेल लगायतको सहभागिता रहेको थियो ।
