 
 
 
 
विराटनगर १४ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले शेयर सदस्यलाई ९ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सहकारीको १४ औं बार्षिक साधारणसभाका अवसरमा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरिएको ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
सहकारीले यसअघि १३ प्रतिशत बोनस वितरण गरेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीमा हाल १२१ जना शेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०८१–८२ मा १ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको अध्यक्ष दाहालले साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सोही अवधिमा संस्थाले १३ लाख ६६ हजार ९८९ रुपैयाँ कुल आम्दानी गरी ५ लाख ८ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । १४ औं वार्षिक साधारणसभाको अवसरमा विभिन्न सम्मानबाट ९ जना सम्मानित तथा पुरस्कृत भएका छन् ।
विद्यावारिधि हासिल गर्ने सदस्य, एसईई र कक्षा ११–१२ मा उत्कृत अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरु, अग्रज सदस्य, असल ऋणी र उत्कृष्ट बचतकर्ता शेयर सदस्यहरूलाई सम्मान गरिएको हो ।
विद्यावारिधि गर्ने सेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई सम्मान गरिएको थियो । त्यसैगरी, अग्रज शेयर सदस्य केशवबहादुर कार्की, असल ऋणी अनिल श्रेष्ठ तथा उत्कृष्ट बचतकर्ताका रूपमा कुलानन्द गच्छदार र कविता घिमिरेलाई सम्मान गरिएको छ ।
यस वर्षदेखि संस्थाले शेयर सदस्यका सन्ततीलाई शैक्षिक पुरस्कार प्रदान गर्न सुरु गरेको छ । जसअनुसार एसईईतर्फ श्रेय शर्मा र मेघा श्रेष्ठ तथा कक्षा १२ र सीटीईभीटी तीनवर्षे तहतर्फ मृदुला विष्ट र हृषव पोखरेललाई पुरस्कृत गरिएको छ ।
सम्मानित तथा पुरस्कृत सबैलाई जिल्ला अदालत मोरङका न्यायाधीश केशवप्रसाद घिमिरेले कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गर्नु भएको थियो ।

 
 
 
 
 
							  
							  
							  
  
                               
 
 
 
 
 
 
   
   
  