


विराटनगर १४ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ को घटना सम्बन्धि जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गर्न नेकपा एमाले कोशीले माग गरेको छ ।
अध्यक्ष कार्कीलाई जिम्मेवारीबाट मुक्त गरि निष्पक्ष र तटस्थ व्यक्तिहरु आयोगमा नियुक्त गर्न माग गरिएको हो । कार्कीले अध्यक्ष बन्नुअघि नै सबैजसो विषयमा निष्कर्ष निकाल्दै फैसला नै गरिसकेको व्यहोरा सामाजिक सञ्जालमा देखिएकोप्रति एमाले कोशीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगका अध्यक्षको नेतृत्वमा भएका पछिल्ला कार्यशैली र निर्णयहरूले आयोगकै विश्वसनीयता र निष्पक्षता माथि गम्भीर प्रश्न उठेको जनाईएको छ । जाँचबुझ आयोगमा रहने ब्यक्ति तटस्थ र निष्पक्ष हुनुपर्नेमा उहाँको जुन पक्षधरता देखिएको छ यसले विधिको शासनको खिल्ली उडाएको एमाले कोशीका अध्यक्ष घनस्याम खतिवडाले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वपधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का÷रद्द गर्न सिफारिस गरेको विषयप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘ देशभित्र आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार र जनजीविकाका सवाललाई सम्बोधन गर्न असफल सरकार अहिले प्रतिपक्षी नेतामाथि राजनीतिक प्रतिशोध लिने असंवैधानिक प्रयासमा लागेको भन्ने हाम्रो ठहर छ । अध्यक्ष ओलीजस्तो राष्ट्रिय नेता विरुद्ध गरिएको यस कदम लोकतन्त्र, न्याय र राजनीतिक संस्कृतिप्रति प्रहार हो ।’
भदौ २४ को विध्वंशकारी घटनामा संलग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्रधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडी नबढाउनु भनेर गृह मन्त्रालयले नेपाल प्रहरीलाई गरेको निर्देशनले पनि सरकार र आयोगको भूमिका प्रष्ट पारेको एमाले कोशीले जनाएको छ ।
एमाले अध्यक्ष ओलीको पासपोर्ट रोक्का र रद्द सम्बन्धी सिफारिस तुरुन्त फिर्ता गर्न पनि माग गरिएको छ । जेनजी आन्दोलनको भावनालाई ध्यान दिदै नयाँपुस्ताको विचार सुन्ने, छलफल गर्ने जस्ता कार्यमा पार्टी कमिटीहरु क्रियाशील हुनपनि आव्हान गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।

