स्टार सहकारी विराटनगरको खुद नाफा ३८ लाख

विराटनगर ११ असोज । स्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विराटनगरको २८ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले ४९ करोड ९० लाख १४ हजार ५ सय ८२ रुपैया वासलात रहेको प्रतिवेदनलाई पारित गरेको छ ।

सो अवशरमा संस्थाक अध्यक्ष रमेशप्रसाद पोखरेलले संचालक समितिको प्रतिवेदन बाचन गर्दै संस्थाको कूल शेयर पूँजी ४ करोड १५ लाख ९१ हजार, कर्जा लगानी ३४ करोड ८५ लाख ४२ हजार, बचत ३५ करोड ५५ लाख ४९ हजार रहेको बताउनु भयो ।

संस्थाले आ.व. २०८१–०८२ मा खुद नाफा ३८ लाख ५६ हजार गर्न सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले नियमित कारोवारका अतिरिक्त रक्तदान कार्यक्रम, जेष्ठ नागरिक तिर्थाटन, जेष्ठ सदस्य सम्मान, सांस्कृतिक अन्तर घुलन, बृक्षारोपण, पोशाक वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु समेत यस बर्ष संचालन गरेको जनाईएको छ ।

साधारण सभाकै अवशरमा समाजसेवी दिनवन्धु गोयल र संस्थाद्धारा स्थापन गरिएको स्वर्गीय ओमप्रकाश गोयल–स्टार छात्रवृत्ति अन्तर्गत यस बर्ष पनि विभिन्न सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । हरेक वर्ष सो कोषबाट जनही ७ हजारका दरले ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।

सोहि अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वेनु सीता, पर्शुराम स्टार कोषवाट विराटेश्वर वृद्ध आश्रमको भवननिर्माणका लागि २५ बोरा सिमेन्ट उपलब्ध गराएको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अग्रज सहकारी अभियन्ता मुक्ति बराल रहनु भएको थियो ।