विराटनगर १० असोज । कोशी प्रदेशसभाको ७ औँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको ४० औँ बैठक गत भदौ १५ गते बसेको थियो । सो बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने अन्योल थियो । आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ । सचिवालय भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थामा छ ।
अन्योलकाबीचमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आज रातिबाटै चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेशसभा भवन र सचिवालयका लागि विराटनगरमा कार्यालय खोजी गर्ने कार्य भइरहेको छ ।
विराटनगरको वीरेन्द्रसभा गृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवनमा सचिवालय र प्रदेशसभा भवन सञ्चालन गर्ने विकल्पको रूपमा प्रस्तुत भएको छ । तर निर्णय भइसकेको छैन ।