विराटनगर महानगरद्धारा पालमुनिबाटै इजलास सञ्चालन

विराटनगर ८ असोज । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले विराटनगर महानगरपालिकाको भौतिक संरचनामा गम्भीर क्षति पुर्याएपछि आजदेखि पालमुनिबाट इजलास शुरु गरिएको छ ।
महानगरपालिका कार्यालयमा रहेको इजलास जलेर नष्ट भएकाले अस्थायी रूपमा पाल टाँगेर इजलास सञ्चालन गर्न थालिएको हो ।

आजदेखि न्यायिक समिति संयोजक तथा महानगर उपप्रमुख शिल्पा निराला कार्की र न्यायिक समिति सदस्य तिर्थेन्द्र न्यौपानेकोे इजलासमा न्यायिक समितिमा परेका तीनवटा निवेदनमाथि सुनुवाइ गरिएको छ । आज घर जग्गा मिचेको, रिटेनिङ वाल भत्काएको क्षतिपूर्ती र घरेलु हिंसा सम्वन्धि मुद्धामाथि सुनुवाई भएको हो ।

महानगरको भौतिक संरचना आगजनीबाट क्षति भएपनि जनतामाझ प्राप्त हुने सेवा सुविधालाई मध्यनजर गर्दै कार्यकक्षको अभावमा पालमुनीबाटै सेवा शुरु गरिएको उपप्रमुख तथा न्यायिक समिति संयोजक कार्कीले बताउनुभयो ।

टेन्ट जडान गरि महानगरको सेवा संचालनका लागि महानगरसँग समन्वय सहित स्वयंसेवकीय भूमिका निर्वाह गरिदिएकोप्रति ‘नेपाल स्काउट विराटनगर एवं स्काउट कोशी प्रदेश’लाई उहाँले धन्यवाद दिनु भएको छ ।