पूर्व नगर प्रमुख ढकालको पहलमा सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आज कार्यालय सामग्री हस्तान्तरण गरिएको छ ।

पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो ।

नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । सुन्दरहरैचाको सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टर क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि र केवी तथा अनिता श्रेष्ठले एक/एक थान कम्प्युटर, कञ्चनजंघा इन्डष्ट्रिज पालिले कम्प्युटर र प्रिन्टर एक/एक थान, सुन्दरहरैचा ७ का विशाल खरेलले प्रिन्टर २ थान र सिपीएन इन्फोसिस् प्रालिले प्रिन्टर एक थान नगरपालिकालाई उपलब्ध गराएको पूर्व नगर प्रमुख ढकालले बताउनुभयो ।

नगरवासीको सहयोगमा नगरपालिकालाई पुरानै अवस्थामा फर्काइने उहाँले बताउनुभयो । सुन्दरहरैचा सुरक्षित शहर भनिएतापनि जेनजीको नाममा घुषपैठ हुँदा नगरपालिका कार्यालय, निजी घर र पार्टी कार्यालयमा क्षति पुगेको पूर्व नगरप्रमुख ढकालले बताउनुभयो । उहाँले आगामी दिनमा अवाञ्छित गतिविधि नगर्न पनि चेतावनी दिनुभयो ।

सुन्दरहरैचाका नगरप्रमुख केदारप्रसाद गुरागाँइले नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । नगरपालिकाले सेवा प्रवाह शुरु गरिसकेको उहाँले बताउनुभयो । नगरपालिका जलेर नष्ट भएपनि निराश भएर बस्ने अवस्था नभएको नगरप्रमुख गुरागाँइले बताउनुभयो ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको करिव ४ करोड ३० बराबरको भौतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुशार कार्यालय परिसरमा रहेका एउटा निजी सहित ४ वटा मोटरसाईकल पनि जलेर नष्ट भएको छ ।

जेनजीको आन्दोलनका क्रममा प्रर्दशनकारीहरुले सुन्दरहरैचा नगरपालिका कार्यालयसँगै नगर प्रमुख गुरागाँइ र पूर्व नगर प्रमुख ढकालको घरमा रहेका सम्पूर्ण सामानहरुमा आगजनी गरेका थिए । त्यसैगरि पूर्व मन्त्री भानुभक्त ढकालको घर, नेपाली कांग्रेस नगर कार्यालयमा तोडफोड तथा आगजनी गरिएको थियो ।