
विराटनगर ७ असोज । जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले भोलि देखि आंशिक सेवा शुरु गर्ने भएको छ ।
मोरङ प्रशासनले बुधवार देखि नावालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सञ्चालन सुचारु गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालयमा भएको तोडफोड र आगजनीले गर्दा कार्यालयमा रहेका सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, ल्यापटप, कुर्सी, फर्निचर लगायतका सामानहरु चोरी, लुटपाट तथा आगजनी भएकोले हाल अत्यावश्यक सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो ।
प्रशासन कार्यालयले जारी गरेको सूचना अनुशार नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।