
विराटनगर ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आह्वान गर्नुभएको छ ।
जनताको सङ्घर्ष र बलिदानको फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै यसका प्रबन्धलाई व्यवहारमा रूपान्तरणका लागि आह्वान गर्नुभएको हो । संविधान दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले २०७२ असोज ३ गते जारी भएको संविधान ऐतिहासिक उपलब्धि रहेको पनि बताउनुभएको छ ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सृजित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि राष्ट्रपति पौडेलले बताउनुभएको छ । उहाँले भन्नुभयो “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई यस दिवसले एकजुट हुन प्रेरणा दिने छ ।”
राष्ट्रपति पौडेलले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके मात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने चर्चा गर्नुभएको छ । हाम्रो संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको उहाँको भनाइ छ ।