
विराटनगर १६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ, आईएफसी र युरोपियन युनियनको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा ‘वातावरण र सामाजिक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरणीय प्रभाव, सामाजिक उत्तरदायित्व र सुशासन अब व्यवसाय मूल्यांकनका मुख्य आधार बन्दै गएको उल्लेख गर्दै यस्तो अभ्यासले कोशी प्रदेशलाई मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले प्रदेशका साना–मझौला उद्योग प्रवद्र्धनका लागि महासंघले ढाका कपडा उत्सव, महिला उद्यमी क्षमता विकास, ग्रामीण उत्पादन ब्रान्डिङ र रैथाने उत्पादन प्रवद्र्धनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा आईएफसीका यजस्वी श्रेष्ठले संस्थाको परिचय तथा नेपालमा सञ्चालित कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै, लोपा रहमान र सोफिया टामोटले व्यावसायिक सुशासन, वातावरणीय चुनौती र यसको महत्वबारे प्रस्तुति गरेका थिए ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरूमाथि लागू हुने मापदण्डबारे प्रश्न उठाए भने ग्रिन यार्ड एग्रो फार्मका संचालक गिरिराज बस्नेतले कृषि क्षेत्रमा देखिने वातावरणीय जोखिमबारे अनुभव सुनाउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी–व्यवसायीहरूको उपस्थिति रहेको थियो ।