
विराटनगर, १६ भदौ । ४ वर्ष अघि विराटनगरमा नयाँ घर निर्माणका लागि एक हजार बढीले घर नक्सा दर्ता गरे । पछिल्लो ४ वर्षको अवधिमा सोही वर्ष हो सवैभन्दा बढी घर नक्सा दर्ता भएको ।
आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३१३ वटा घर निर्माणका लागि घर नक्सा महानगरमा दर्ता भएको थियो । त्यसपछि हरेक वर्ष यो संख्या ओरालो लाग्दो अवस्थामा छ । कोशी प्रदेशको राजधानी विराटनगरमा नयाँ घर थपिने क्रम बर्षेनी घट्दै गएको महानगरको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७८/७९ मा विराटनगर महानगर भित्र नयाँ घर निर्माणका लागि एक हजार ३१३ वटा घर नक्सा दर्ता भएको थियो । आ.व. २०७९–८० मा ८९० वटा, आर्थिक वर्ष २०८०–०८१ मा ७९० र आ.व. २०८१–८२ मा ९३२ वटा घर नक्सा दर्ता भएको छ ।
आ.व २०७४–७५ देखि आ.व. २०७७–०७८ सम्मको अवधिमा हेर्ने हो भने आव २०७६–७७ ( कोराना भाइरसको महामारीको वर्ष) बाहेक अन्य वर्षहरुमा नयाँ घर निर्माणका लागि प्रति वर्ष एक हजार चार सयको हाराहारीमा घर नक्सा दर्ता हुँदै आएको देखिन्छ । तर पछिल्ला वर्षहरुमा भने घट्दै गएको छ ।
बाहिरका मानिसहरुको आकर्षण घट्दै गएका कारण महानगर भित्र नयाँ घर निर्माणको सङ्ख्यामा कमी आएको कुरामा विज्ञहरु सहमत देखिन्छन् । रोजगारी सिर्जना हुने गतिविधिहरु घट्दै जाँदा महानगर भित्र बाहिरी मानिसहरुको आकर्षण पनि घट्दै गएको अर्थशास्त्री डा. भेषप्रसाद धमला बताउनु हुन्छ ।
‘पहिले विराटनगर औद्योगिक नगरी थियो, अहिले विस्तारै यहाँको उद्योगहरु बुटवल, भैरहवा जस्ता नयाँ नगर तिर सिफ्ट भएको देखिन्छ, पहिलेको तुलनामा यहाँ रोजगारी सिर्जना हुन छाड्यो, सोही कारण नयाँ मानिसहरु आउने क्रम पनि घट्दै गएको हो’– डा धमलाले भन्नुभयो ।
पहिले पहाडवाट वसाइँसराँई गर्ने धेरै मानिसहरुको रोजाइ विराटनगरनै हुन्थ्यो तर अहिले विराटनगरले अतिरिक्त आकर्षण दिन नसकेपछि उनीहरुको रोजाई विराटनगर भन्दा काठमाण्डौ हुने थालेको डा. धमलाको भनाइ छ । अर्को तर्फ विस्तारै पहाड खाली हुँदै गएको र मधेश आन्दोलन पछि पहाडबाट झर्नेहरु विराटनगर आउन छाड्दै गएको उहाँको तर्क छ ।
विराटनगरको शहरीकरण बृद्धि हुन नसक्नुमा अर्थशास्त्री धमलाकै जस्तो विचार अर्का अर्थशास्त्री प्रा डा अर्जुन बरालको पनि रहेको छ ।
कोशी प्रदेशको प्रादेशिक राजधानी समेत रहेको विराटनगर महानगर भित्र जुन दरमा शहरीकरण बढ्नुपर्ने हो त्यो दरमा बढ्न नसकेको अर्थशास्त्री तथा त्रिभुवन विश्व विद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा बराल बताउनु हुन्छ ।
महानगर भित्र नयाँ निर्माण हुने अधिकांश घर महानगरको वडा नं १, ३, ४, ८ र ११ मा बढी केन्द्रित भएको महानगर घर नक्सा शाखाका कर्मचारीहरु बताउँछन् ।
रोजगारीका नयाँ क्षेत्रहरु सिर्जना हुन नसक्नु, विराटनगरका आसपासमै इटहरी, धरान लगायत पूर्व पश्चिम राजमार्ग क्षेत्रका बजारहरुमै पहाडी क्षेत्रबाट आउने मानिसहरुको आकर्षण बढ्दै जानु जस्ता कारणले विराटनगर महानगर भित्र बाहिरी मानिसहरुको चाप बढ्न नसकेको प्राडा बरालको भनाइ छ ।
द्वन्द्वकालिन समयमा कोशी पश्चिम सिरहा र सप्तरी लगायतका जिल्लाबाट विराटनगर वसाँइसराइँ आउने क्रम पनि अहिले शान्ति स्थापना पछि रोकिएको वताउँदै डा बरालले भन्नुभयो–‘ शिक्षा र स्वास्थ्यको सुविधा बाहेक अन्य अवसरहरु नभएकाले विराटनगर महानगरले बाहिरी मानिसहरुलाई आकर्षण गर्न सकेको छैन ।’
थोरै पुँजी भएका मासिनहरुको रोजाई विराटनगर भन्दा बेलबारी, सुन्दरहरैचा, ग्रामथान जस्ता शहरीकरण हुँदै गएका नयाँ क्षेत्रहरु हुने गरेको विज्ञहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा सडक यातायातको विस्तारले विराटनगर आसपासका बेलबारी, सुन्दर हरैचा, ग्रामथाम, रङ्गेली, धनपालथान, कटहरी, बुढीगंगा, सुनसरीका दुहबी, इनरुवा, इटहरी, बर्जु लगायतका गाउँ तथा नगरपालिकाका भित्री गाउँहरुको पहुँच सिधै विराटनगरसँग भएको र ती क्षेत्रका वासिन्दाहरुले आफ्नै गाउँघरमा बसेर पनि विराटनगरको स्वास्थ्य र शिक्षाको सुविधा उपभोग गर्न सक्ने अवस्था सिर्जना हुँदै गएकाले नयाँ मानिसहरु विराटनगर आउने क्रम रोकिदै गएको प्राडा बरालको भनाई छ ।
पछिल्लो वर्षहरुमा सडक, विजुली जस्ता विकासका पूर्वाधारहरु गाउँघरसम्मै पुगेको र विराटनगरमा जग्गाको मूल्य समेत बढ्दै गएकाले थोरै पुँजी भएका मासिनहरुको रोजाई विराटनगर भन्दा बेलबारी, सुन्दरहरैचा, ग्रामथान जस्ता शहरीकरण हुँदै गएका नयाँ क्षेत्रहरु हुने गरेको विज्ञहरु बताउँछन् ।
महानगर भित्र नयाँ निर्माण हुने अधिकांश घर महानगरको वडा नं १, ३, ४, ८ र ११ मा बढी केन्द्रित भएको महानगर घर नक्सा शाखाका कर्मचारीहरु बताउँछन् । विशेष गरेर यी वडाहरुमा पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभाबाट बसाइँसराइँ गरी आउने मानिसहरुको चाप रहेको बताइन्छ । त्यसबाहेक मोरङ र सुुनसरीकै पनि ग्रामीण क्षेत्रका पहाडे मुलका वासिन्दाहरु यीनै वडामा बसोबास गर्न रुचाउने गरेको देखिन्छ ।
महानगरको मुख्य बजार क्षेत्र रहेको वडा नं ७ र ९ मा स्थान अभावले गर्दा नयाँ घरहरु थपिने अवस्था नरहेकाले बाहिरी मानिसहरु आउने र नयाँ घर निर्माण हुने अवस्था नरहेकाले तला थपिने काम मात्र हुने गरेको छ ।
महानगरको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रका वडाहरु वडा नं १३, १४, १७ र १८ मा बाहिरबाट आउने मानिसहरुका चाप कम रहेको र ती वडाहरुमा नयाँ घर निर्माण हुने क्रम पनि कम नै रहेको छ ।
पुराना वस्तिहरु रहनु, विकासका पूर्वाधारहरुको निर्माण हुन नसक्नु, रोजगारीका अवसरहरु पनि नहुनु र वाहिरी मानिसहरुका लागि सहज वातावरण बन्न नसकेकाले महानगरको दक्षिण क्षेत्रका वडाहरुमा बाहिरी मानिसहरुको आकर्षण बढ्न नसकेको विराटनगर स्थित डिग्री क्याम्पसका समाजशास्त्र विषयका सह प्रध्यापक डिल्ली प्रसाई बताउनु हुन्छ ।
आगामी दिनमा विराटनगर महानगरले बाहिरी मानिसहरुलाई आकर्षित गर्न विकासका पूर्वाधार निर्माण देखि रोजगारीका अवसर सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने बौद्धिक क्षेत्रका व्यक्तिहरुको सुझाव छ ।