सरकारी कामकाजको भाषा बिधेयकबारे दुई दलीय संयन्त्रमा छलफल

विराटनगर २९ साउन । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ ।

बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा बिधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरुको (बान्तवा, चाम्लिङ र थारु लगायत) आवाजहरुलाई समेट्ने र संबोधन गर्ने तथा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारका काम कारवाहीबारे जानकारी गराउनु भएको थियो ।

संयन्त्रको बैठकले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव समेत दिइएको बताईएको छ । प्रदेश स्तरिय संयन्त्रमा नेकपा (एमाले) का तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा(एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा रहनु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट पुर्व मुख्यमन्त्री, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र उमेश थापा रहनु भएको छ ।