कोशी प्रदेशका बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका बाल संगठनको भौतिक तथा आर्थिक अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन उहाँले निर्देशन दिनु भएको हो ।

नेपाल बाल संगठन कोशी प्रदेश स्तरिय भेला/प्रशिक्षण कार्यक्रमको आज सामाजिक विकास मन्त्रालयमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले ३ महिना भित्रमा प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनुभयो ।

प्रतिवेदन अनुसार प्रदेश सरकारले योजना बनाएर संगठनको पुर्नसंरचनाको काम गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । बाल संगठनको अवस्थाका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारको क्षमता अनुसार बाल संगठनको मागलाई संवोधन गर्दै लगिने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बाल संगठन सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुभयो । संस्था जोखिम र जिर्ण अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

वि.स.२०१८ सालमा स्थापित संस्थाको सम्पती दुरुपयोग भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिले संस्था बचाउनका लागि कचौरा लिएर माग्दै हिँड्नु पर्ने अवस्था आएको छ ।’ नेपाल बाल संगठनमा अहिले ३२० जना अनाथ बालबालिका संरक्षणमा रहेको उहाँले जानकारी दिनुभयो ।

कोशी प्रदेश बाहेक यसअघि सुदुरपश्चिम, गण्डकी र लुम्विनी प्रदेशमा प्रशिक्षण काम सकिएको उहाँले बताउनुभयो । प्रादेशिक प्रशिक्षण सँगै तीनवटै तहका सरकारलाई झकभक्याउने काम गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल बाल संगठन मोरङका अध्यक्ष नविन पहाडीले असहाय, अशक्त, परिवार विहिन बालबालिकाहरुको अभिभावकत्व बाल संगठनले गर्दै आएको बताउनुभयो । उहाँले लामो समय निस्कृय भएको संस्थाले २०७६–०७७ देखि सक्रियता बढाएको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा पाँचथर बाहेका १३ जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्षहरु, सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।