
विराटनगर २९ साउन । विराटनगरकी एक बृद्धाले ८९ वर्षमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका वडा नं ८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाउनु भएको हो ।
शान्तिदेवीले नागरिकता पाएपछि उहाँका ३ छोरा र बुहारीहरुले पनि नागरिकता पाएका छन् । उहाँले बैवाहिक अंगिकृत नागरिकता पाउनु भएको हो ।
शान्तिदेवीका श्रीमान योगी शर्माको १७ वर्षअघि निधन भएको थियो । श्रीमानको निधन पछि नागरिकता बनाउन उहाँलाई समस्या भएको थियो । उहाँले भन्नुभयो,‘ नागरिकताको आवश्यकताबारे पनि थाहा भएन ।’
नागरिकता पाएपछि भत्ता लिन शुरु गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ भत्ता पाउन थालेकी छु । खुशी लागेको छ ।’
बैवाहिक अंगिकृत नागरिकताको लागि सम्पूर्ण कागजात तयार गर्न उहाँले झण्डै ६ महिना लागेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । आवस्यक कागजात पुगेपछि नागरिकताका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०८१–०८२ मा वडा नं. ८ बाट जन्मका आधारमा ६६६ जना, वंशजका आधारमा ३४०, प्रतिलिपीका लागि २१७ र गैरआवासीय ९ जनाको सिफारिस गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।