विराटनगरकाे सुर्योदय डेरीका सञ्चालक यादव दुग्ध विकास बोर्डको सदस्यमा मनोनित

विराटनगर २८ साउन । दुग्ध विकासको क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायी मनोजकुमार यादव राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी सदस्यमा मनोनित हुनुभएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट यादव बोर्डको सदस्य नियुक्त हुनुभएको हो । बोर्डको ऐन २०४८ को दफा ७ को उपदफा (१) को खण्ड (ठ) बमोजिम मंगलबार कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले यादवलाई बोर्ड सदस्य नियुक्त गर्नुभएको हो ।

मन्त्री अधिकारीले मंगलबार नै यादवलाई बोर्ड सदस्यमा मनोनित गरेको पत्र हस्तान्तरण गर्नुभएको छ । बोर्डको अध्यक्ष कृषि तथा पशुपंक्षी विकास मन्त्री हुने व्यवस्था छ ।

विराटनगरको जतुवास्थित सुर्योदय मिल्क एण्ड वेभरेज प्रा.लि. सञ्चालक यादव दुग्ध क्षेत्रको विज्ञ मानिनुहुन्छ । यादवको नेतृत्वमा नेपालको दुग्ध क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

२५ वर्षदेखि दुग्ध व्यवसायमा आवद्ध यादवसँग दुग्ध व्यवसायको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव छ ।

बोर्ड सदस्यमा मनोनित भएपछि सरकारलाई धन्यवाद दिंदै यादवले आफुले दुध र दुग्धजन्य पदार्थको उत्पादन र बजार विस्तारका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।