
विराटनगर, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा “उद्यम यात्रा, अनुभव र उत्प्रेरणा” विषयक युवा उद्यम सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरुलाई उद्यमशीलता सम्बन्धी ज्ञान, अनुभव र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्र्टाटअप व्यवसायीले आफनो उद्यम यात्रा तथा अनुभवहरू सुनाउँदै सहभागिहरुलाई व्यवसायिक विकासको व्यावहारिक ज्ञान र प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो समय विश्वबजारमा उद्यमशीलताको विकासका सन्दर्भमा युवाहरूको वर्चश्व वढदै गएको बताए । उनले युवाहरूको सृजनात्मक सोच, प्रविधिमैत्री दृष्टिकोणले मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने सक्ने सम्भावना वढदै गएको वताउदै यसप्रकारको कार्यक्रमले युवा उद्यमशिलता विकासका लागि उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।
संगठनको महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले युवा र महिलाहरूलाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन । उनले महिला उद्यम समिति सधैं महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहने स्पष्ट पार्दै युवा उद्यम संवादले युवा पुस्तालाई व्यवसायिक यात्रा सुरु गर्न हौसला प्रदान गर्ने धारणा व्यक्त गरिन ।
महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले युवाहरु आर्थिक विकासको सम्वाहक भएको वताउदै स्वदेशमै वसी उद्यमशिलता विकासमा अभिप्रेरित गर्न र युवाहरूलाई आगामी दिनमा स्पष्ट मार्गचित्र प्रदान गर्न कार्यक्रमले सहयोग पुर्याउनेआशा व्यक्त गरिन ।
कार्यक्रममा स्टार्टअप व्यवसायी रवी गुप्ताले आफनो उद्यम यात्रा साझा गर्दै व्यवसाय सुरु गर्दा समस्या र अनेकौ चुनौतीहरू आएतापनि निरन्तर प्रयास र सही निर्णयले सफलता प्राप्ती सम्भव भएको वताए ।
त्यस्तै अर्की उद्यमी तारादेवी अधिकारीले सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको सही प्रयोगले व्यवसायलाई छोटो समयमा व्यापक बनाउने अवसर प्रदान गर्ने वताउदै युवाले प्रविधिको सदुपयोग गर्नुपर्ने धारणा राखीन ।
महिला उद्यमी लक्ष्मी घिमिरेले स्वीजरल्यान्ड भ्रमणको अनुभव साझा गर्ने क्रममा त्याहाका महिला उद्यमीहरुले कसरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले गहिरो प्रभाव पारेको वताउदै अनुशासन, पद्धति र गुणस्तरप्रतिको प्रतिबद्धतालेव्यवसाय विकासमा थप टेवा पुग्ने स्पष्ट पारिन ।
कार्यक्रममा महिला उद्यम समितिका सदस्यहरु, विभिन्न क्याम्पसका विधार्थीहरु, उद्यशिलतामा अभिरुची भएका युवाहरू, स्टार्टअप उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।