विद्यालय नर्सिङ कार्यक्रम : विद्यार्थी, शिक्षक र अभिभावक लाभान्वित

विराटनगर, १८ साउन । विराटनगरको पोखरीया माविमा नियमित पठन–पाठनसँगै स्वास्थ्य उपचार सेवा सुरु गरिएपछि विद्यार्थीहरुको अनुपस्थिति दर घटाएको छ ।

विद्यालयमै निःशुल्क स्वास्थ्य उपचार हुन थालेपछि छात्राहरुको महिनावारी हुँदा वा स–सानो चोटपटक लागेकै कारण विद्यालयमा अनुपस्थिति हुने, टिफिन समयपछि विभिन्न शारीरिक समस्या देखाएर विद्यार्थी घर जाने क्रम पूर्णरुपमा कमी आएको पोखरीया मावि विराटनगरका प्रधानाध्यापक खेमराज भट्टराईले बताउनुभयो ।

कोशी प्रदेश सरकारको तत्कालिन सामाजिक विकास मन्त्रालयले २०७६ सालबाट प्रदेश भित्रका केही सामुदायिक विद्यालयहरुमा सुरु गरेको ‘विद्यालयमा नर्सिङ सेवा’ कार्यक्रमसँगै विराटनगरको पोखरीया माविमा पनि दैनिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु भएको हो ।

स्वास्थ्य उपचार सेवा सुरु भएसँगै विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक वर्ग समेत लाभान्वित भएको प्रधानाध्यापक भट्टराईको भनाइ छ ।

‘विद्यालयमा यो सेवा प्रारम्भ भएसँगै विभिन्न शारीरीक समस्या देखाएर हुने विद्यार्थीहरुको अनुपस्थिति दरमा पूर्ण सुधार भएको छ, आफ्नो शारीरिक समस्याहरुका बारेमा विद्यार्थीहरुले विद्यालय परिवारसँग खुलेर छलफल गर्न थालेका छन्, विद्यालयमा जङफुड (पत्रु खाना) लिएर आउने कुरामा कमी भएको छ’ –प्रधानध्यापक भट्टराईले भन्नुभयो ।

बाल कक्षा देखि १२ सम्म पठनपाठन हुने उक्त विद्यालयमा अहिले तीन हजार ६ सय विद्यार्थी अध्यनरत छन् ।

जसमा आधा सङ्ख्या छात्राहरुको रहेको छ । ‘विद्यालयमा नर्सिङ सेवा’ कार्यक्रमबाट १० वर्ष देखि १९ वर्ष उमेरका छात्राहरु निकै लाभविन्त भएको सोही विद्यालयमा कार्यरत विद्यालय नर्स प्रतिभा बजगाई पनि स्वीकार गर्नुहुन्छ ।

यो कार्यक्रम मार्फत विद्यालयमा अध्ययरत सबै छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गरिने स्यानीटरी प्याड, १० देखि १९ वर्षका किशोरीहरुका लागि आइरन चक्की फोलिक एसिड, जुकाको औषधी लागयतका विन्नि औषधीहरु विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

विद्यालय हाता भित्र खेल्दा कुनै चोटपटक लागेमा, पेट वा टाउको दुखेमा, वा विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावहरुमा स्वास्थ्य सम्बन्धी कुनै किसिमका समस्या देखापरेमा आवश्यक उपचार सँगै सम्बन्धित अस्पतालमा रिफर गर्ने काम विद्यालयबाटै हुने गर्दछ ।

विद्यालयमा नर्सिङ कार्यक्रमबाट विद्यार्थी, शिक्षक र अभिभावक वर्ग समेत लाभन्वित भएको विराटनगर स्थित सत्यनारायण माविका प्रधानाध्यापक पुरुषोत्तम गुरागाँईले बताउनुभयो ।

कार्यक्रमको प्रभावकारीताबारे बताउँदै प्रधानध्यापक गुरागाइँ भन्नुहुन्छ –‘घरबाट विद्यालय गएको छोराछोरीलाई केही भइहाल्यो भने त्यही उपचार हुन्छ भन्ने विश्वास अभिभावकमा जगाएको छ, छात्राहरुमा पोहिलो पटक महिनावारी हुँदा देखिने त्रासमा कमी आएको छ, विद्यार्थीहरुमा स्वास्थ्य र खाद्य चेतनामा सुधार भएको छ ।’

दुइ हजार विद्यार्थी सङ्ख्या रहेको उक्त विद्यालयमा चोट पकट लागेर, पेटक दुखेर र बेहास हुने समस्या लिएर दैनि ४०÷५० जना विद्यार्थीहरु उपचारका लागि आउने गरेको विद्यालय नर्स मन्दिरा घतानी बतउनु हुन्छ ।

विद्यार्थीहरुको आवश्यकता अनुसार स्यानीटरी प्याड,हेण्डीप्लाष्ट, मोभ र खाने औषधी उपलब्ध गराउने तथा प्रेसर जाँच गर्ने जस्ता सेवाहरु विद्यालयले उपलब्ध गराउँदै अएको छ ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खुवाउनुका साथै स्वास्थ्यप्रति उत्प्रेरित गर्दै सरसफाइ र पोषण प्रवद्र्धन गर्न तथा स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्न, किशोर किशोरीको यौनजन्य प्रजनन स्वास्थ्य अवस्थामा सुधार गर्ने जस्ता उद्देश्य राखेर कोशी प्रदेश सरकारले २०७६ सलाबाट यो कार्यक्रम सुरु गरेको हो ।

पहिलो वर्ष प्रदेश भित्रका १४ वटा विद्यालयहरुमा सञ्चालन गरिएको यो कार्यक्रम अहिले प्रदेश भरीका १७३ वटा विद्यालयमा सञ्चालन भइरहेको छ ।

विद्यालयमा दैनिक स्वास्थ्य उपचार उपलब्ध गराई विद्यालयमा हुने विद्यार्थीहरुको अनउपस्थितिलाई रोक्न लागू गरिएको यो कार्यक्रम निकै प्रभाावकारी देखिएको तर यो कार्यक्रम अन्तर्गत नियुक्ति पाएका नर्सहरु अन्यत्र अवसर पाउँदा बीचमै जागिर छाड्ने र स्थानीय तहले आवश्यक सहजीकरण नगर्दा कार्यक्रमको दिगोपनामा चुनौती देखिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत बताउनुहुन्छ ।

कार्यक्रमलाई प्रभाकारी बनाउन तीन तहकै सरकारले समन्वय गरी विद्यालयमै नर्सिङ दरबन्दीको व्यवस्था गर्न सके कार्यक्रम दिगो हुन सक्ने निर्देशक बस्नेतको भनाइ छ ।