६ किलोमिटर सडक ६ वर्षमा नबनेपछि सांसद पराजुलीद्धारा अनशनको घोषणा

विराटनगर २५ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो ।

आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ सडक निर्माणका लागि आफ्नै सरकारकाविरुद्ध आन्दोलन गरियो, अनसन पनि बस्यौं,पटक पटक सहमति हुन्छ तर बाटो बन्दैन ।’ बाटो हिँड्दा अत्यन्त अप्ठेरो र असहज छ, साइकल, सिटी रिक्सामा मोटरसाइकलमा हिड्नेलाई कति गाह्रो भएको होला उहाँले भन्नुभयो । उहाँले सरकार भन्दा ठेकेदार बलियो देखिएको गुनासो गर्नुभयो । सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गर्नुभयो ।

अलपत्र सडक राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको पराजुलीले बताउनुभयो ।

लामो समय सम्म सडक नबनेपछि गत विहिबार कटहरी खण्डमा स्थानीयले धान रोपेका थिए । सडक नबनेपछि कटहरी गाउँपालिका–३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर धान रोपेका थिए ।