‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित

विराटनगर, २२ साउन । जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित भएका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या ६३७ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई/गोरु ६३५ र भैसी/राँगा दुईवटा रहेकाछन् ।

लामो समय सम्म प्रदेश भित्रका १० वटा जिल्लामा मात्र सिमित रहेको यो महामारी गत हप्ता देखि प्रदेश भित्रको तेह्रथुममा पनि देखापरको निर्देशनालयका निर्देशक डा शुसिल अधिकारीले बताउनुभयो । निर्देशक डा अधिकारीका अनुसार गत शुक्रबारको रिर्पोटमा तेह्रथुममा पाँच वटा गाई÷गोरुमा ‘लम्पी स्किन’ देखापरेको छ ।

सो रोगबाट सबै २१ हजार ८९८ गाई/गोरु तथा भने २२४ वटा भैसी/ रागा सङ्क्रमित भएकाछन् ।उक्त रोगबाट पछिल्लो एक हप्ताको अवधिमा मात्र एक हजार ५०६ वटा गाई/गोरु तथा २६ वटा भैसी/रागा सङ्क्रमित भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । पछिल्लो हप्तामा मात्र कोशी प्रदेशमा ‘लम्पी स्किन’बाट ८१ वटा गाई÷गोरु र एउटा भैसीको मृत्यू भएको थियो ।

‘लम्पी स्किन’को महामारीबाट सबै भन्दा बढी झापामा १४ हजार ६९२ वटा पशु सङ्क्रमित भएकाछन् । जसमा १४६९० गाई/गोरु र दुई वटा भैसी सङ्क्रमित भएका छन् । झापा पछि मोरङ, इलाम र सुनसरी बढी पशुहरु सङ्क्रमित भएकाछन् । निर्देशनालयका अनुसार मोरङमा दुई हजार ४१९ गाई/गोरु र १७ वटा भैसी/रागा, इलाममा दुई हजार ४२ गाई/गोरु, सुनसरीमा एक हजार ७२६ गाई/गोरु र ३१ वटा भैसी/रागा सङ्कक्रमति भएको निर्देशनालय ले जनाएको छ ।

अहिलेसमम उदयपुरमा ५४७, खोटाङमा ४२८, भोजपुरमा ९७ वटा ताप्लेजुङमा ५४ वटा,पाचथरमा १४, धनकुटामा ५० वटा तेह्रथुम पाँच पशु सङ्क्रमित भएका छन् । कोशी प्रदेशको सोलुखम्बु, ओखलढुङ्गा र सखुवासभामा भने अहिलेसम्म यस रोगको सङक्रमण देखापरेको छैन ।

अहिलेसम्म उक्त रोगबाट झापामा सबै भन्दा बढी ४१० वटा पशुको मृत्यू भएको छ । झापा पछि मोरङमा १०९ वटा, सुनसरीमा ६२ वटा र इलाममा ३९ वटा पशुको मृत्यू भएको छ । त्यस्तै ताप्लेजुङमा दुई, धुनकुटा र खोटाङमा तीन/तीन र उदयपुरमा नौ पशुको मृत्य भएको छ । सङक्रमण देखा परेर पनि अहिलेसम्म पाँचथर तेह्रथुम र भोजपुर कुनै पनि पशुको मृत्यू भएको छैन ।

रोग नियन्त्रणका लागि प्रदेश भित्र अहिलेसम्म रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईगोरु र राँगाभैंसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको निर्देशनालय कासूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले बताउनुभयो ।

गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिने र यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट एकबाट अर्कोमा सर्ने पशु चिकित्सक साहको भनाइ छ । ‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौं ’ पशु चिकित्सक साहले भन्नुभयो । प्रत्येक पालिकास्तरबाट पनि भ्याक्सिन र औषधि वितरण भइरहेको समेत उहाँले बताउनुभयो ।

यो रोग लाग्दा सुरुमा पशुको शरीरमा फोकाहरु निस्कने र पछि ती फोकाहरु फुटेर घाउ हुने गरेको पशुप चिकित्सकहरु बताउँछन् । यो रोग नेपालमा २०७७ साउनमा पहिलो पटक मोरङमा देखापरेको   थियो । अगाडि व्यस्क पशुहरुमा मात्र देखापरेको यो रोग यसपटक बाछाबाछी र पाडापाडीहरुमा पनि देखा परेको डा अधिकारी बताउनुहुन्छ ।