
विराटनगर २१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि गर्न र पत्रकारितामा महिलाहरूलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म पत्रकार महिलाहरूको हितमा काम गर्ने बताउनुभयो ।
प्रदेश सरकारले कानुन मार्फत बनाउन लागेको पत्रकारिता प्रतिष्ठान मार्फत पनि पत्रकारको हितमा काम गर्ने सोचाई अगाडि राखेको उहाँले बताउनुभयो । लैङ्गिक मैत्री कानुन बनाउन र महिलाहरूलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न हुने बताउँदै उहाँले प्रदेश सरकारले सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
संचारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाहरूका विविध विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको थियो। संचारिका समूहकी कोषाध्यक्ष, कोशी प्रदेश अध्यक्ष तारा आचार्य लगायतका पदाधिकारीहरू ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।