झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले गिरोहको विवरण सार्वजनिक गरेको छ । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका– २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भएर दुहबी – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियालाई पक्राउ गरेको हो । चोरीको सामान किनेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर– ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सीताराम राई पक्राउ परेका छन् ।

गिरोहले ट्रान्सफर्मर चोरी गर्दै त्यहाँभित्रको तामाको तार विभिन्न व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीका अनुसार तामाको तार महँगो मूल्यमा बिक्री हुन्छ । प्रहरीले तामाको तार चोरी गरेर बिक्री र खरिद गर्नेलाई पक्राउ गरेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार पक्राउ परेको गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको पाइएको छ ।

चोरीमा प्रयोग भएका औजार डायल रेन्च २२ थान, सलाई रेन्व ३, पिलास ३, पेचकस ३, छिनो १, साङली १, कैची १ र ह्याक्सो बिलेट ३ थानसहित चोरी प्रयोग गरिने विभिन्न सामान बरामद भएको कार्कीले बताए । प्रहरीले चोरीमा प्रयोग भएका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । एउटा पिकअप गाडी र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको डीआईजी कार्कीको भनाइ छ ।