
विराटनगर २० साउन । विराटनगरको कान्तिपुर कलेजमा अध्ययनरत राजनारायण महतोले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को कक्षा १२ को परिक्षामा नेपाल टप गरेका छन् ।
कान्तिपुर कलेजबाट २०८१ सालको कक्षा १२ को एनइबीको परिक्षामा सहभागी विद्यार्थी मध्ये विज्ञान संकायका महतो ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका हुन ।
कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले कान्तिपुरका विद्यार्थी राजनारायणले नेपाल टप गरेको दावी गर्नुभयो । उहाँका अनुशार राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको नतिजामा ४.० जीपीए कसैको नभएको र ३.९६ नै सर्वोत्कृष्ट अंक हो । प्राचार्य नेपालले भन्नुभयो,‘ अहिले सम्मको जानकारी अनुार ३.९६ भन्दा माथि कसैको देखिएको छैन ।’ विज्ञान संकायमा नेपाल टप गरेको प्राचार्य नेपालको दावी छ ।
कान्तिपुर कलेजबाट परीक्षामा सहभागि भएका मध्ये ३.६१ देखि ४.०० जीपीए ३७ जना, ३.२१ देखि ३.६० जीपीए ३ सय ५८ जना, २.८१ देखि ३.२० जीपीए १ सय ८७, २.४१ देखि २.८० जीपीए १ सय ५३ र २.०१ देखि २.४० जीपीए ७४ जना ल्याउँदा ९४ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको प्राचार्य नेपालले बताउनुभयो । विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन पढ्न चाहने विद्यार्थीका लागि कान्तिपुर कलेज प्रथम रोजाइको केन्द्र बन्दै गएको उहाँले बताउनुभयो । कान्तिपुर कलेजले देखाएको प्रतिबद्धता र उपलब्धिहरूले नेपाली शिक्षा क्षेत्रमै सकारात्मक ऊर्जा थपेको प्रचार्य नेपालको भनाई छ । उहाँले भन्नुभयो,‘ हरेक नतिजामा हामी उत्कृष्ट बन्दै गएका छौं ।’
कान्तिपुर कलेजमा अहिले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कान्तिपुरबाट २०८१ को एईई परीक्षामा आयुषा कार्कीले ४.०० जीपीए ल्याएकी थिईन् ।