नाउपाको अध्यक्षमा लालवीर चौधरी, निलम्वित अध्यक्ष रञ्जिता श्रेष्ठले लगाएका आरोपहरू फेस गर्न चौधरी तयार

विराटनगर १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।

अध्यक्ष चौधरीले रञ्जिता श्रेष्ठले पार्टीमा लगाएका आरोपहरू फेस गर्न तयार रहेको बताएका छन् । अध्यक्ष बनेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने बताए । ‘म यो अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले जे सुझाव सल्लाह विधि पद्धतिको आधारमा नाउपालाई अघि बढाउनेछु,’ उनले भने ।

रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको बताए । ‘डेढ वर्ष भयो उहाँ (रञ्जिता) ले बैठक नडाकेको हुनाले विकल्प खोजेका हौं । अहिले उपनिर्वाचन हुँदैछ, उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि झटपट गरेर बस्यौं । निकास निस्क्यो,’ चौधरीले भने । साथै उनले हिजो र आज बसेको भेलामा उपस्थित हुन श्रेष्ठलाई आग्रह गर्दा पनि नभएको जिकिर गरे ।

श्रेष्ठलाई पोखराको लिचीबारी जग्गा प्रकरणको घुस काण्डमा जोडिएको आरोप लागेको छ ।