
विराटनगर १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिनु भयो ।
केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रकिया भए अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो ।
नेता कोइरालाले भन्नु भयो ,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।’ उहाँले नेपालको संविधानले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्न् भयो ।
गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमती कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले नेकांमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
एक फरक प्रसङगमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विस २०८२ मा हुने विचार राख्नुभयो ।