योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सवन्धि विधेयकबारे छलफल

विराटनगर, १२ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

छलफलमा कोशी प्रदेश सभाका चार जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो । सो सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन गर्न कोषले मद्दत गर्ने बताउनुभयो ।

उहाँले २०७६ साल साउन १ देखि यतका कर्मचारीहरुको हकमा कोष स्थापना गर्नु पर्ने कानुनी व्यवस्था अनुसार नै यो विधेयक आएको जानकारी दिँदै कोषको रकम कहाँ जम्मा गर्ने अहिले नै निक्र्यौल नभएको बताउनुभयो । उहाँले यस विधेयकबाट स्थानीय तहका कर्मचारीहरुको पनि कोष जम्मा गर्न एकरुपता ल्याउन सहज हुने उल्लेख गर्नुभयो । सभामा ‘ सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो विधेयक सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले प्रस्ताव पारित भएको थियो । शून्य समयमा कोशी प्रदेश सभाका सदस्य रामप्रसाद महतो, रामदेव यादव र राजन किराँतीले खडेरीका कारण किसानले समयमै धान रोप्न नपाएको अवस्थामा सिँचाईका लागि सरकारले कृषि मिटर र ट्रान्सफरको व्यवस्था गरी किसानलाई सहुलियत दिनु पर्ने बताउनुभयो ।

सदस्य गोम्बु शेर्पाले सगरमाथा कोशी प्रदेशमा पर्ने भएपनि यसबाट संकलन हुने रोयल्टी संघको हुने र सङ्खीय सरकारले सगरमाथ क्षेत्रमा रहेका पार्थीव शरीर र फोहोर व्यवस्थापन नगर्नु दुःखद विषय हो भत्रुभयो । अर्का सदस्य गणेशप्रसाद उप्रतीले चोरले आफू कहिले चोरी गरेको इतिहास नभएको प्रसङ्ग उल्लेख गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको विषयमा रहेको घुसको प्रकरणमा छानबिनको माग गर्नुभयो ।

सदस्य भक्तिप्रसाद सिटौलाले झापाको विर्तामोड स्थितका यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा खटिएका कर्मचारीको योग्यता नपुगेको जानकारी दिँदै स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिने चिकित्सकले सेवाग्राहीबाट तोकिएको रकम भन्दा बढी रकम असुल्ने गरेकोमा ध्यानाकर्षण गराउनुभयो । अर्को बैठक भोलि दिउँसो १ बस्नेछ ।