विराटनगरमा निकालिने रथयात्राको तयारी शुरु

विराटनगर ११ साउन । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको छ ।

९४ औं संस्करणको श्रीराधाकृष्णको रथको आकार ठुलो रहेको रथयात्रा मुल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले वताउनुभयो । योवर्षको रथको लम्वाई चौडाइ तथा रथको उचाई समेत वढाइएकाले रथको आकार ठुलो रहेको उहाको भनाई छ ।

विगतका वर्षहरु जस्तै यो वर्षपनि विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्रा तयारीको विषयमा सरोकारवालासंग मूल समारोह समितिले आज छलफल आयोजना गरिएको थियो । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रथयात्रा व्यवस्थित एंव मर्यादित वनाउने विषयमा सरोकारवाला निकायसंग छलफल गर्नु भएको थियो ।

कार्यक्रममा रथयात्रा आयोजना हुदा अपनाउनुपर्ने शान्ती सुरक्षाको अवस्था ,रथ परिक्रमा गर्ने सडकको अवस्था, खानेपानी तथा सडकमा रहेको विद्युत तथा केवलतारको अवस्था साथै स्वास्थ्यकर्मी परिचालनगर्ने तथा एम्वुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सरोकारवाला संग छलफल गरिएको थियो । कोशी प्रदेश सहित नेपाल र भारतका गरि ५ लाख बढि धर्मावलम्बी रथयात्रामा सहभागिता हुने आयोजक समितिको अनुमान छ । विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछिको दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्रा मान्ने गरिन्छ ।

विराटनगर–१ पानीट्याङ्की स्थित राधाकृष्ण मन्दिरबाट भदौ १ गते आईतबार दिउसो ३ वजे निकालिने रथयात्राले ९ किलोमिटरको दुरी तयगर्ने र सो रथयात्राले परिक्रमाको क्रममा ४४ स्थानमा विश्राम लिने सो अवसरमा जानकारी गराइयो नगरक्षेत्रको परिक्रमा पछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ ।