गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएन : कांग्रेस पूर्व पदाधिकारी

विराटनगर ५ साउन । नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् ।

सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयोे, ‘कांग्रेस–एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो । साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन । त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ ।’

कांग्रेस नेता सिटौंलाले संविधान संशोधन र समीक्षा गर्ने विषयमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति प्रकाशमान सिंहसमक्ष ध्यानाकर्षण गराएको बताउनुभयो । ‘हामीले नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका प्रकाशमानजी लगायत उपप्रधानमन्त्रीज्यूहरुलाई भनेका छौँ । उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्नुहुनेछ,’ उहाँले भन्नुभयोे, ‘ गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस्, आजको हाम्रो यो मान्यता रहेको छ ।’ उहाँले आज छलफल भएको विषयमा भोलि पार्टी सभापति शेरबहादुर देउवालाईसमेत जानकारी गराउने बताउनुभयो ।

कांग्रेसका डा.शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकोबारे सञ्चारकर्मीको प्रश्नमा सिटौलाले यो कुरा सम्बन्धित नेताहरूलाई नै सोध्दा उचित हुने जवाफ दिनुभयो । ‘यो उहाँको कुरा हो । त्यो उहाँलाई नै सोधेको जाति हुन्छ ।’ उहाँले भन्नुभयोे ।

चाक्सीबारी बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा.शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए ।