सरकारलाई दिएको समर्थन उपेन्द्र यादवले फिर्ता लिए, राष्ट्रिय सभामा सरकार अल्पमतमा

विराटनगर ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै वास्ता नगर्ने तथा पार्टीले उठाएका मुद्दामा पनि प्रधानमन्त्रीबाट सकरात्मक प्रतिक्रिया नआएपछि समर्थन फिर्ता लिने निर्णय भएको अधिकारीले बताउनुभयो । समर्थन गरेका दलहरूलाई समेत सरकारले गरेका गलत काम र निर्णयको अपजस आइलागेकाले पनि सत्तारुढ गठबन्धनबाट हट्नुपर्ने निर्णयमा पुगिएको अधिकारीले बताउनुभयो ।

गठबन्धन निर्माणका बेला प्रतिबद्धता गरेको संविधान संशोधनको कुनै पहल नगरेको, सुशासनमा दिनदिनै कमजोर बन्दै गरेको र भ्रष्टाचार मौलाएको कारण पनि समर्थन फिर्ता लिने निर्णयमा पुगिएको अधिकारीले बताउनुभयो प्रतिनिधिसभामा जसपा, नेपालका पाँच सांसद छन् । राष्ट्रिय सभामा यो पार्टीका तीन सांसद छन् । प्रतिनिधिसभमा जसपा, नेपालले समर्थन फिर्ता लिँदा सरकारलाई केही प्रभाव नपर्ने भएपनि राष्ट्रिय सभामा भने असर पर्नेछ । राष्ट्रिय सभामा जसपा, नेपालले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपा १ र मनोनित १ सांसद मात्रै छन् । यसरी राष्ट्रिय सभाको सत्तापक्षमा २८ सांसद मात्रै छन् । यसअघि जसपा, नेपालले समर्थन गर्दा ३१ सांसद थिए । अब राष्ट्रिय सभाको विपक्षमा बहुमत हुने भएको छ । माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा, नेपालका ३, मनोनित १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । यसमा राष्ट्रिय सभाका अध्यक्षलाई जोडिएको छैन ।

सरकारको सिफारिसमा मनोनितमध्ये एक जना राष्ट्रिय सभा अध्यक्ष छन् भने एक जना सत्ता र अर्काे एक जना प्रतिपक्षमा छन् । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै सरकारलाई विधेयक पारित गर्न सकस हुनेछ । यादवले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत भने लिनुपर्ने छैन ।