
विराटनगर १९ असार । समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ ।
डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालको सुझाव छ ।
साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने उहाँले बताउनुभयो । उहाका अनुसार तथ्याङ्कमा डेंगु सङ्क्रमण कम देखिएको छ तर १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा आएका छैनन । ‘सङ्क्रमण फैलिने सम्भावना उच्च छ ।
डेंगु बढ्ने अनुमानका साथ कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेंगु नियन्त्रण गर्ने तयारी गरिएको छ ’ उहाँले भन्नुभयोे, ‘यो आर्थिक वर्षका लागि डेंगु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन छ ।’ गत वर्ष झै मानिसले सावधान नअपनाउने हो भने यो वर्ष अवश्य नै डेंगु संक्रमण बढ्नेमा कुनै पनि दुईमत नरहेको उहाँको तर्क छ ।
महाशाखाका अनुसार हालसम्म कुल १ हजार ६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामात्रै ७१ जना नयाँ संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम १ जना मात्र पुष्टि भएका छन ।
बागमती प्रदेशमा ४०४ जना,गण्डकीमा ३५८ जना, कोशी प्रदेशमा ३३४, लुम्बिनी प्रदेशमा २७८, सुदूरपश्चिममा २३२, कर्णालीमा ३६, मधेस प्रदेशमा ३१ जना संक्रमित रहेका छन् ।